आमा, तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीच मैले आँखाका ढकनी खोलेँ ।
आङमा अवनिको चिसो रगतमा तिम्रै न्यानोपन तिम्रा आँखाको अपेक्षाको भकारी र मेरो अनिमिष नियालाइ कस्तो अविस्मरणीय थियो– त्यो पल !
तिम्रो तीव्र अभिलाषा– अनवरत आनन्दीको, सदाबहार सुदृष्टिको, र सुखस्वप्नको मेरै लागि थियो ।
हुर्कायौ, बढायौ, दौडन सिकायौ आत्माको बल र आङमा पखेटा तिम्ले नै उमारिदियौ ।
अब भन्छ्यौ– छोराकै हातको तातोपानी पिएर छोराकै भागको तातो गाँस लिएर उसैको न्यानोपनमा परान फाल्न पाए; मलाई शान्ति मिल्थ्यो मलाई हर्ष मिल्थ्यो ।
मलाई पनि– पाखुरा गलेकी बुढी आमालाई रुखो आँगनमा एक्लै छाडी स्वप्न उडानमा रमाउने मन थिएन बादलको भुँवरीमा हराउने मन थिएन
तर– तिम्रा आकाङ्क्षाका चाङ र अपूरा सपनाका लहरहरू मेरा रहर बनिदिए त्यसैले मलाई उड्न देऊ तिमीले हालेका पखेटाले ज्योति समात्न देऊ । आमा नरोऊ ! तिम्रो आँसु; मेरो आँसु हो, मेरो उडान; तिम्रै उडान हो, मेरो रहर; हामी दुवैको रहर हो आमा, मलाई उड्न देऊ, तिमीले दिएका आँखाले संसार देख्न देऊ !
Leave a Reply
कमेन्ट गर्न फेसबुकबाट साइन इन गर्नुहोस्। फेसबुकबाट साइन इन