घामको रंग घोप्टिएर पहेंलो देखियो हिमाल । शयन कक्षको ‘डिमलाइट’झैँ मधुरो देखियो पहाड । लाग्छ- हरेक गोधूली साँझ बासना बोकेर आइरहेछ भुइँकुहिरो– तमोर बोकेर ल्याइरहेछ । ००० फक्ताङलुङको फेदमा मुजिङना खेयोङनाझैँ रुखमाथि चढेर पिपिरी बजाउँदै सत्यगुरु साँहिली हावामा सुसेली हाल्छे– आऊ, पेनेबा हात समाऊ ! ००० ए अर्धचन्द्रनयनी ! कोशीको चिसो जलझैं नक्सा मात्र हुँ म बासनाको भीरफूल टिप्न सक्दिनँ । साँहिली ! तिमी हिमालको शीरबाट आयौ म गंगाजीको तीरबाट आएँ तिमी प्रकृति– निष्काम उदायौ म परलोकको यात्री– कामविशेषले आएँ म बीज/तिमी धर्ती म पुरुष/तिमी स्त्री मलाई माफ गरिदेऊ साँहिली मैले तिम्रो हात छुन मिलेन अपवित्र हुन मिलेन । तिमी खुवालुङमा तान बुनेर बस म कोशी किनारमा ध्यान गरेर बस्छु मलाई माफ गरिदेऊ सत्यगुरु साँहिली ! ००० बाजे ! कोशीमा फक्ताङलुङको जल मिसिएको छ पवित्र गंगाजीमा मुजिङनाको मल मिसिएको छ तिम्रो नाकमा मेरो शरीरको सुगन्ध ठोक्कियो कि ? म रजस्वला हुँ, तिम्रो ध्यान रोक्कियो कि ? सुँघे हुन्छ मलाई, म फूल हुँ बिर्सिदिए पनि हुन्छ, म भूल हुँ तिमी बग्ने बगरको म मूल हुँ । ००० ए मत्स्यगन्धा ! म परासर भएँ । कुहिरोले ढाक्यो, निराकार भएँ । आऊ मेटाउँ दुई आत्माको प्यास जन्माउँ एउटा साझा बेदव्यास ‘सुसुवा लिलिम’ जन्माए पनि हुन्छ मेरै बीजबाट । ००० माफ गर बाजे ! म उर्बर हुँ/उर्वर्शी हैन रंगीन हुँ/अर्धाङगिनी हैन सुगन्ध हुँ/बासना हैन प्रकृति हुँ/विकृति हैन बुझेनौ तिमीले हिमालको रस गड्तीरमै अब ध्यान गर्दै बस । ००० प्रलय आयो सम्बन्धमा– बाढी पस्यो बाँधमा । न नदी/न बगर न शून्यता/न आकार न मिलन/न विछोड न रहस्य/न निचोड न असार/ न सार न परलोक/ न संसार न देखियो फक्ताङलुङ न रह्यो कोशी किनार !
कमेन्ट गर्नुहोस्
कमेन्ट गर्न फेसबुकबाट साइन इन गर्नुहोस्। फेसबुकबाट साइन इन