Read Time:10 Minute, 6 Second

आमा, तिमीले सिकाएको भाषा र गुरुले दिएको दिक्षा दुवै उपयोगमा आएका छैनन् । 

सानोमा बाले हात समातेर ढुङ्गाको सिलौटामा माटोको चकले लेख्न सिकाएका बाह्रखरीको मात्रै आजसम्म साथ पाइरहेको छु । अनि कोइलाले घरको भुई कोर्दै चिनाएका देवनागरी लिपीका अंकहरुपनि बढिजसो प्रयोगमा आएनन् । बरु हिन्दु अरेबिक लीपीका अंकहरु चाहिँ बढी चाहिए, आजसम्म ।

तिमीले सिकाएको भाषा त तिम्रो र मावली गाउँको कथा बुझ्न मात्रै काम लाग्ने रहेछ । लाग्दैछ– यसरी नै हरेक आमाले आफ्ना र माइति गाँउका कुरा बुझ्ने भाषा मात्रै छोरा–छोरीलाई सिकाएकी हुदिहुन् । 

गुरुले सिकाएका कतिपय कुरा मसँगै शहर पस्न सकेनन् । पस्न सकिहाले पनि आफ्नो लागि आफै स्थान बनाउन सकेनन् ।

धुलाचौरको स्कुलको भुईमा झरेका बक्काइनाका गेडा अञ्जुलीमा थप्दै–हटाउदै पाण्डेसरले सिकाएको प्ररम्भिक गणितीय हिसाब– जोड घटाउ; त दाल तरकारी किन्दा र घरभाडा बुझाउदा मात्रै प्रयोगमा आएको छ । कक्षा ४ मा चिनेका अक्षर– एबीसीडी, पाँचमा पढेका शब्दहरू र छ/सात कक्षाएता नबिराएका वाक्यहरु मात्रै आजभोली बोलिचाली र लखापढिमा सक्रिय छन् ।

यहाँ हुने कतिपय सेमिनार तथा गोष्ठीहरुमा म सहभागी भइहाले भने ट्वाल्ल पेरेर हेहिरहनु पर्ने बाध्यता मात्र छ । परार साल तिमी, हाम्री ठुलीआमा, र काकीहरु केअर नेपालको जनचेतनामूलक भेलामा अलमलीएका थियौँ नि हो त्यस्तै । उनीहरू बोलिरहेका मुख हेरी रहन्थ्यौ, त्यसपछि केही बुझेझै गरी मुस्कुराउदै मुन्टो पनि हल्लाउदथ्यौँ । साँझ, घरमा आइपुगेपछि भन्थ्यौ– “ती मान्ठले त क्या भन्या क्या भन्या, एकै कुणो पनि बुझिएन ।” हो, मलाईं पनि त्यस्तै हुन्छ कहिले कहीँ । त्यति बेला त्यहा स्थानीय होइन नेपाली भाषा बुझ्नु पर्ने थियो । यहाँ चाहिँ अग्रेजी भाषा बुझ्नै पर्ने । दैनिक जसो अङ्ग्रेजीमा पोख्त भइन भनी पछुताउछु र नेपाली शुद्ध लेख्न र बोल्न परे डगमगाउँछु । आमा, तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, हगी ?

ए, एउटा कुरा त भन्नै बिर्से । झन् यही कुरा तिमीलाई थाहा दिउँला भनेर चिट्ठी लेख्न आँटेको । आमा, हाम्रो गाँउको भाषामा त दुई/चारओटा चलचित्र बनेका छन् नि । बुझिनौँ ‘चलचित्र’ भेनेको ? फिलिम क्या फिलिम । ६२ सालतिर बाले सुनाएका थिए नि । भारतबाट कमाएर ल्याएको धनमालको भुण्टो फुकाउदै “त्याँ त ठुलो घरमा सनिमा धेखाउदा रह्या छन् । बस्याका सिटम्बै कत्रा कत्रा माण्ठ धेखिँदा ।” बाले भनेको त्यो कहिल्यै नसुनेको कुरामा कहाँ हाम्रो ध्यान जान्थ्यो र ? म त तीन–चार गोटा मिस्री र गुडको एक चोइटोमै रमाएँ । तिमी बाले ल्याएदिएका सारीचोलोमा ।

बाले भारतमा कि सिनेमा, की फिल्म, की त पिक्चर सुनेका थिए होलान् तर घरमा आइपुग्दासम्म उनको दिमागमा सनिमा रह्यो होला । बाले भन्थे नि– “कस्ता राम्णा–राम्णा मान्ठ, बोली पनि उस्तै मिठो तर ती  त हिन्दी मात्रै बोल्दा । हाम्बो बोली बोल्दैनन् ।”

आमा, तिमीलाई बुझानउनलाई मात्रै ‘फिलिम’ भन्दैछु है । यो हाम्रो शब्द होइन र अरूको पनि शुद्ध शब्द यो होइन । कि हामीले आफ्नै भाषामा बुझ्न–बुझाउन सक्नु पर्छ । कि त जे, जे हो त्यही बोल्न र बुझ्न सक्नु पर्दछ । आफ्नो सहजताको नाममा अरूका शब्दको असुहाउदो उपयोग पनि गरिदिनु हुँदैन ।

आमा, फिलिममा बोल्ने मान्छेलाई पात्र भन्ने रेहेछन् क्या । ती पात्रलाई जुन भाषामा जे–जस्ता वाक्य र भूमिका दिइएको छ तिनले त्यस्तै बोल्ने र देखिने रहेछन् । कालो पोथी भन्ने नेपाली फिलिमका पात्रले त हाम्रै गाँउको भाषा बोलेका छन् नि । मैले यो फिलिम हेर्दा तिमीलाई कत्ति सम्झिँए । त्यसमा त हाम्रो मामाको सदमुकाम गमगढीको कथा पो रहेछ । म १२ वर्षको हुँदा मामाघर लिएकी थियौँ नि तिमीले । कति रमाएको थिएँ है अामा ! म त्यहाँका केटाकेटिसंग खेल्न । फिलिम हेर्दै गर्दा मामाको घर पछाडिको चाउरमा खेलेको त्येसवेलाको याद पनि आयो । ती हिरो त हामी जस्तै । त्यो वेलाका मेरा जस्तै फोहोर लुगा लाएका । सिँगान चाही मेरो भन्दा कम थियो कमिजका बाहुलामा । मेरो त कमिजको दुवै बाहुलामा कति सिगाँन हुन्थ्यो है, आमा । “मावल आएको वेलामा सिगान निकाल्नु हुँदैन है !” त भन्थ्यो तिमी तर के गर्नु एक दिनमै कमिजका बाहुला काला बनाउथेँ । पर्ख ! दसैँमा म घर आउँदा मोबाइलमा ल्याएर देखाउछु तिमीलाई कालो पोथी ।

अर्को एउटा छक्का पञ्जा भन्ने फिलिम पनि रमाइलै रहेछ । छक्का पञ्जा पनि ल्याउँला दसैँमा । यो फिमिमा चाही एक जना राजा नाउँका मान्छे (पात्र) छन् । तिनले पनि हाम्रो जस्तै भाषा बोल्छन् । तर तिनले बोलेको भाषा हाम्रो कान्छो भाइले सिक्दै गरेजस्तो पनि छैन, अामा । तिनले त हाम्रो स्कुलमा पढाउने पूर्वतिरका सर छन् नि हो तिनैले सिक्दै गरेको हाम्राे गाउँको जस्तो भाषा बोल्छन् ।

गाँउमा धेरैजना जम्मा भएर गफ चुट्ने पटाँङ्ग्रीको चौतारो छ नि, हाम्रो । यहाँ त्यस्तै गफ चुट्ने ठाँउ फेबवुक छ । तिमीले फेसबुक भनेको छोरी–बहिनीले कुरा साँट्–काट् गर्ने पधेँरो जस्तै ठाउँ होला भन्ठान्यौ कि क्याहो ? होइन, यो त मोबाइलमै हुन्छ । एउटा इन्टरनेट भन्ने हन्छ है । हाे, त्यो भयो भने जताबाट पनि गफ चुट्न मिलिहान्छ ।

त्यो छक्का पञ्जा फिलिम हेरेपछि चाहिँ धेरैले आ–आफ्ना तरिकाले फेसबुकमा गफ चुटे । कसैले आजसम्मकै मन परेको चलचित्र भने । कसैले बाहिर हल्ला गरिएजस्तो फिल्म होइन रहेछ भने ।

सुदुर पश्चिमका बढिजसो, जसले छक्का पन्जा हेरे तिनीहरूको टिप्पणी भने आफ्नो भाषामाथी ख्यालठट्टा गरिएको भन्ने थियो । लोकप्रिय देउडा गीतकार राजेन्द्र शाह ‘वीपी’ले चाहिँ ‘हाम्रो (सुदुर) भाषा र भावनामाथि मजाक गर्ने दीपक गिरीलाई जेल हाल्नु पर्छ ।’ भनेर पहिलोपटक फेसबुकमा लेखे । अर्कोपटक सुदुर भाषालाई चटनी बनाएर बासीभात बेच्न खोज्नेलाई रामलाल जोशीको ऐना भन्ने किताब पढ्न सिफरिस पनि गरे । पछिल्लो पटक चाहिँ ‘छक्का पन्जामा भाषा प्रयोग अज्ञानताबस गल्ती भएको कुरा दीपक गिरीले स्वीकारे’ भन्ने पनि फेसबुकमा लेखे ।

कान्तिपुरको काशेलीमा चाहि सावित्री गौतमले ‘टाप कस्नेहरुकै नाममा’ शीर्षकमा चलचित्र छक्का पञ्जाबारे लेखेकी थिइन । उनले महिलालाई हास्यव्यंग्य गर्ने निन्दनीय कार्यक्रमको सिलसिलाको रूपमा यस चलचित्रलाई व्याख्या गरिन् । कथावस्तुमै केन्द्रित भएर टिप्पणी गर्दा उनले भनेकी छन्– “धेरै नागरिकको मष्तिस्कमा अत्यन्त छिटो र गहिरो गरी सम्प्रेषण हुने फिल्मजस्तो असरदार माध्यामको कथा बनाउदा न्यूनतम रिर्सचसम्म त गर्नु वा हरेक समाज–वर्गको मर्यादाको ध्यान राख्नु नागरिककै रूपमा जो सुकै फिल्मकर्मीका जिम्मेवारीभित्र जरुर पर्छ ।” 

भाषा प्रयोग त कहाँ र कसलाई पो निषेध गर्न मिल्छ र, हैन आमा ? देखिनौ, पाँच साात महिना भारतमा काम गरी फर्किएका दाजुभाइ हिन्दी बोल्दैनन् र हाम्रो गाँउमा ? फेरि यो भन्दैमा, मौलिकताको घाँटी निमोठीकन भाषाको प्रयोग गर्नु पनि त न्यायोचित हुँदैन होला नि । अमेरिकी फिल्म मेकर केभिन स्मीथका अनुसार एउटा मान्छेको अस्पष्टता त अर्काको अशिष्टता हुन पुग्छ भने एउटा चिलचित्र पात्रको अस्पष्टता एउटा सिङ्गो समुदायका लागि अशिष्टता बन्न नसक्ने पक्कापक्की कसले गर्न सक्लान् । 

आमा, सुदुरको भाषा तिमीले नै सिकाएकी हुनाले तिमी जत्तिकै म सुदुर भाषालाई पनि माया गर्छु । नेपालीको सम्पती नै नेपाली भाषा भएकाले यसको जतन गर्नु पनि मेरो कर्तव्य हुन्छ । अङ्ग्रेजी भाषाको पनि विश्वव्यापी महत्त्व रहदै अाएकाले यससम्बन्धी ज्ञान प्राप्त गर्नु मेरो आवश्यकता बन्दैछ । म जहाँ पुगे पनि, जे भाषा सिके–बोलेपनि आमा तिमीलाई बिर्सिने छैन । तिमीले सिकाएको भाषालाई भुल्ने छैन । अहिले स्कुल गइरहेको कान्छो भाइलाई भने मातृभाषाको अपमान गर्नु आफ्नी आमाको अपमान गर्नु सरह हुन्छ भनी वेलावेलामा सम्झाउदै गर है । 

सम्मन सहित,
जेठो छोरा, काठमाडौँबाट

Mimraj Pandeya

Mimraj Pandeya is passionate about storytelling, philosophy, and personal growth. Driven by curiosity, he delves into cultures, literature, and the human experience. Always learning and striving to be genuine, Mimraj shares his knowledge with those around him. He is committed to making meaningful connections and building a strong personal brand. Above all, he values his love for Nepali poetry, family, and justice.