Read Time:6 Minute, 43 Second

दुनीयाँ आज २०७३ साललाई विदाई गर्दैछ । अनि चौहत्तर साललाई अधिक हर्ष र उल्लसका साथ नववर्षको रुपमा स्वागत गर्दैछ । बितेका ३ सय पैँसठ्ठी दिन उदासिन बनेकाहरुको अनुहारमा समेत उमङ्गको नवीन चमक बढ्दैछ, नव वर्षको आगमनले । भित्रेपात्रोहरुले पनि प्रत्येक सालहरु झैँ जीवन फेर्दैछन् । रंगिदैछन् फेसबुक र ट्वीटरका भित्ताहरु, पत्र–पत्रिकाका पानाहरु; शुभकामना र शुभेक्षाले ।
तर, मेरा आशाका मञ्जरीहरुमा उल्लास छैन । अपूर्ण सपनाहरुमा उत्सव छैन । मेरा लागि चौहत्तर साल त के यो युग नै पुरानो, मधुरो र फाटो छ । केबल केही पाउँने इच्छाहरुको गतिमात्र तिब्र छ, मनमा । सिक्ने चाहानाहरु सबै मन्द छन् ।
खै किन हो ? मेरो लागि घृणित बन्दैछ यो सालको नयाँ वर्ष पनि । विगतका वर्ष झैँ आक्रोस मात्र पोख्न मन छ; बढि सम्भाषण, घटि काम गर्ने नेतृत्व र अधिकार खोज्ने तर जिम्मेवारी देखि त्रसित बन्ने उपभोक्तासँग ।
नववर्ष, आज मलाई काँडा बनि बिझिरहेको छ । सदाझैँ लट्ठ्याउन त खोज्दैछ नववर्षको आगमनले । तर यो नववर्ष पनि त्यति तागत बोकेर आएको छैन जसले म जस्ता म हरुलाई लट्ठ्याउन सकोस् । बाईस वर्षसम्म नयाँवर्ष मनाउने जाँगर चढेकै छैन, ममा । नववर्षको उल्लास र हर्ष प्रति पनि म सन्तुष्ट छैन ।
तनाव र कष्टपूर्ण ३ सय ६५ दिन खपिएको वर्ष, या अझै ३६५ दुःखका दिन थपीएको समय, के सम्झेर म यो नयाँ वर्षलाई खुशीको रुपमा स्वीकारु ?
यो समयलाई अहिलै म उत्सवको रुपमा स्विकार्न सक्दीन । किनकी मेरो देशमा त्यस्तो कुनै परिवर्तन भएको छैन । जसले सर्वसाधारणको आँखामा स्थायी खुशी भर्न सकोस ।
दुई वर्ष त हेर्र्दैमा बिते तर भूकम्पबाट पीडित हामीहरु हाँसेका छैनौँ । राजनीतिले हामीलाई रगत बगाउन मात्रै उचालेको छ । सहयोग र सदभावनाको राजनीति कसैले देखाउन सकेनन् । सधैं बोतल भारतको, बिर्को चाइनाको र खोल्ने हात मात्रै नेपालीको बन्यो । त्यसैले त ढोका बाहिरको गोली बेकसुर घरभित्र पस्दासम्मपनि हामी बोल्न सक्दैनौँ । बरु टाउको थापेरै बसौँला, र सहौँलापनि पुस्तौँसम्म ।
हामी सबैलाई चान्हिछ– खाना । सबैलाई चाहिन्छ– खुसीको बास । यसका लागि काम गर्न सक्दैनौँ र हामी ? नेपालको भन्दा केहिबढि पैसा कमाउन पाउँदा त हामी विदेशमा धेरै मेहनत गरिरहैकै छौँ । त्यो यहाँ गर्देनौ र ? के नेपालमा कामै छैन र ? बनिसके र सबै सडकहरु ? बलिसक्यो, सबै बस्तिमा बिजुली ? अस्पतालहरुले काम नपाएर बन्द हुनपर्ने अवस्था आइसक्यो र ? हिमाल, पहाड र तराईका सबै पाखा र खेतहरु बनिसके हरीयाली ?
कुन क्षेत्र समृद्धीको पूर्णतामा पुगिसक्यो र; पर्यटन ? शिक्षा ? कृषी ? प्रविधि ? कुन ?
हो, यहाँ काम नभएको होइन । तर, काम अह्राउनेले काममात्रै दिए– काम अनुसार पैसा दिएनन् । काम गर्नेले पनि त्यस अनुसारको ज्याला त सधैं चाहे तर माँग्न सकेनन् । डराउनेहरु पाउनै पर्ने ज्याला पनि नमागी बाध्यताले अझँै काम गरिरहेका छन् । विस्वास छः माग्दैनन् पनि उनीहरु । बरु नडराउनेहरु बोले । बोलाइले सार्थकता नपाएपछि पो बिदेशिए उनीहरु । तर ति मध्ये कोहि भने आफ्नो पसिना आफ्नै खेतमा बगाइरहेछन् । र आफ्नो आम्दानीमा पूर्ण रमाईरहेछन् ।
सरकारले चाहिँ नीतिमात्र दियो– कार्यान्वयनमा जोड दिएन । हामीले इमान मात्रै दियौँ– आफैँ अन्यायमा पर्दा समेत बोलिदिएनौँ । सरकारले सुन र पेट्रोलको भाउ घटाउ भनेको मात्रै सुन्यो, सहरमा घरभाडा र गाउँका लागि माल–सामान ढुवानी भाडा घटाउ भनेको कहिल्यै सुनिदिएन । आफ्नै देशमा उत्पादित बस्तुको मुल्य नियन्त्रण गर्न नसक्ने सरकारले सस्तोमा धातु र पेट्रोलीयम पर्दाथ दिन सक्ला भनेर कसरी आशा गरौँ हामी ?
देश बन्छ या बग्रिन्छ भन्नेकुरा राजनीति मै निर्भर हुन्छ । र राजनीतिलाई कुन बाटो लैजाने त्यो नेतृत्वस्तरबाटै निर्धारण हुन्छ । राजनीति सहि या गलत कुन बाटो हिडिरहेको छ ? मैले बझ्न सकेको छैन । तर राजनीतिले हिडाएको बाटोमा जनताहरु अनुशासन र इमान्दारिताकासाथ चुपचाप पाइला चालि रहेछन्, हिडिरहेछन, र दैडिरहेछन् । यौ यात्रा टुङ्गिएकै छैन । र सायौँ नववर्ष आउँदा पनि यो टुङ्गिने छैन ।
सोहि मार्गमा दौडिरहेछु म पनि । तर मेरो दौडाईमा अत्यास र भौतारिदो लालस मात्र छ, उत्साह छैन । केका लागि दौडिरहेको छु म यो पनि मलाईं एकिन छैन ।
म हरपल सन्तुष्ट हुदै, देशको पीडा निवारणमा जुट्न चाहान्छु । देश रहेसम्म वुबा, आमा, नातागेता खासमा केहिपनि चाहिदैन मलाई । अमेरीकाको पेण्टागन या मुम्बईको ताजमहल केहि पनि चाहिएको छैन । बरु मेरो सगरमाथाले शिर ननिहुँराओस । नववर्ष या कुनै मिडसमर इभ नै पर्खिनु परेको छैन म रमाउन । केबल देश र जनता सुखको मार्गमा हिड्न पाएको दिनको प्रतिक्षा भने म गरिरहेको छु । बसाउन खोजिरहेछु, देशको अस्तीत्व र मर्दा छातीमा सूर्य–चन्द्रांंकीत झण्डा टाँग्ने अधिकार ।
म तबसम्म यस्ता ३६५ दिनको समयलाई नयाँ वर्ष मनाउन सहमत हुने छैन । जबसम्म हरेक नेपालीलाई आफ्नो पौरखमा देशभित्रै रमाउने वातावरण बन्ने छैैन् । सबैको व्यवहारमा नौलोपन र अधिकारमा समावेशी विभाजन नआउदासम्म मलाई नववर्षको उत्सवमा रम्नु छैन ।
चाहे जे सहनु परोस । मेरा हरपलका बाधाहरु झन बलिया पार्दै बाँधीरहने छु । सबै खुशी र चाहानाहरु पनि त्यसै परिवर्तित नववर्षको निम्ती साँचिरहने छु । जो मलाई तलको घाटमा तडपी–तडपी कुरिरहेछ ।

Mimraj Pandeya

Mimraj Pandeya is passionate about storytelling, philosophy, and personal growth. Driven by curiosity, he delves into cultures, literature, and the human experience. Always learning and striving to be genuine, Mimraj shares his knowledge with those around him. He is committed to making meaningful connections and building a strong personal brand. Above all, he values his love for Nepali poetry, family, and justice.