कलेज सकिन तीन दिन मात्र बाँकी हुँदा पण्डित् बिराले भेट्न बोलाएकै ठाउँमा थियो ।
उसले निकै बेर कुर्यो तर बिरा आइनँ ।
पर्खाइको दिक्दारी घटाउन मोबाइलबाट पण्डित केही सुन्न थाल्यो ।
बिराले फोन गरी ।
पण्डित– हेलो…
बिरा बोल्न थाली– “बुझिस् हैन त पण्डित् । कसैका लागि एकोहोरो पर्खिनु कति दिक्दारी हुँदो रहेछ ? मैले यस्तै गरी तँलाई तीन वर्ष कुरेँ ।” ग्लानीको आवाज थियो– “कलेज सक्नु अघि मैले निकै सोचेर निचोड निकाले; यो पर्खाइ पनि अब सक्नु पर्यो ।
तँ व्यस्त मान्छे । तँलाई फुर्सद कहिल्यै नहोस् । अनि छ नि … तेरो मेरो भेट अर्को जुनीमा पनि नहोस् । तलाई मेरो तर्फबाट यही शुभकामना– तेरो जन्मदनिको ।
बाइ, शुभ समय !”
खासमा आज पण्डितको जन्मदिन थियो । उसले पण्डितको कुरा नै नसुनी फोन काटी । पण्डितले जवाफ फर्काउनै पाएन ।
भिरको साँघुरो बाटोमा हिड्दै गर्दा कसैले धकली गएजस्तो भयो पण्डितलाई । अब बिराले उसलाई भेट्छु भनेका समयहरू एक-एक गरी सम्झिन खोज्यो–
पहिलो पटक
बिराले कलेजमा भर्ना-फारम भरी माग्ने बहानामा भेट्ने र गफिने इच्छा लुकाएकी थिई । पण्डितले लुकेको इच्छा देखेन । फारम भरिदियो अनि भन्यो– बाइ, ह्याभ–अ–गुड्–टाइम ।
दोस्रो पटक
नोट बुक ल्याइदे न तेरो, भन्दै उ एउटा कफीसपमा बोलाइएको थियो । अर्को पटक त्यही नोट बुक फिर्ता लिन समेत सोही ठाउँमा पण्डित पुग्यो । उसले दुबै पटक नोटबुक बुझाउने, फिर्ता लिने र बाटो लाग्ने काम गर्यो ।
दुई मिनेट गफिन पनि चासो दिएन भन्ने सोचेकी रहिछ बिराले ।
पण्डित खुला थियो र खाली थियो– उसका बिरासित बोल्ने विषय नै हुदैनथे । बिरा भरिएकी थिई । तर खुल्न सक्दीनथी ।
यस्तो धेरै पटक भयो ।
पण्डितले उसका निमित्त जे जति काम गरी दियो ती सबै बिराका भेट्ने बहाना मात्र थिए भन्ने उसले बुझेकै थिएन । जब बुझ्यो कलेज पनि सकियो । बिरा पनि तन्काएर छाडेको गुलेलीको मट्यांग्रा बनी सकी ।
“बाइ, शुभ समय !” उसले बिराको फोन सम्झियो ।
बिरालाई दिनु पर्ने उत्तर उसको मनमा तयार हुँदै थियो– “ठिक भनिस् बिरा ! हो त, म व्यस्त मान्छे हुँ । एउटै कुरामा एकोहोरो सोच्छु । कहिले महिनैसम्म पनि एउटै विषयमा अल्झिरहन्छु । मलाई सतहका कुरा त्यति थाहा हुँदैनन् । म गहिराईका कुरा मात्र महसुस गर्छु ।
तँ नै भन् त– फारम भरी दिने कुरा, नोट बुक दिने र फिर्ता लिने कुराको गइराइमा के हुन्छ ? केही हुन्छ त ?
हेर, म कामको मान्छे हुँ । काममा सम्झिदा त पुगेकै छु नि हैन ? भेटै नहोस् तैले नभनेको उत्तम हो । बरु बेकाममा तेरो मेरो भेट हुँदै नहोस् । मन लागे काम पर्दा सम्झिएस्…
बाइ, ह्याभ–अ–गुड्–टाइम् ! अर्थात् तेरै शब्द “बाइ, शुभ समय ! ”