Read Time:3 Minute, 25 Second

कलेज सकिन तीन दिन मात्र बाँकी हुँदा पण्डित् बिराले भेट्न बोलाएकै ठाउँमा थियो ।

उसले निकै बेर कुर्यो तर बिरा आइनँ ।

पर्खाइको दिक्दारी घटाउन मोबाइलबाट पण्डित केही सुन्न थाल्यो ।

बिराले फोन गरी ।

पण्डित– हेलो…

बिरा बोल्न थाली– “बुझिस् हैन त पण्डित् । कसैका लागि एकोहोरो पर्खिनु कति दिक्दारी हुँदो रहेछ  ? मैले यस्तै गरी तँलाई तीन वर्ष कुरेँ ।” ग्लानीको आवाज थियो– “कलेज सक्नु अघि मैले निकै सोचेर निचोड निकाले; यो पर्खाइ पनि अब सक्नु पर्‍यो ।

तँ व्यस्त मान्छे । तँलाई फुर्सद कहिल्यै नहोस् । अनि छ नि … तेरो मेरो भेट अर्को जुनीमा पनि नहोस् । तलाई मेरो तर्फबाट यही शुभकामना– तेरो जन्मदनिको ।

बाइ, शुभ समय !”

खासमा आज पण्डितको जन्मदिन थियो । उसले पण्डितको कुरा नै नसुनी फोन काटी । पण्डितले जवाफ फर्काउनै पाएन ।

भिरको साँघुरो बाटोमा हिड्दै गर्दा कसैले धकली गएजस्तो भयो पण्डितलाई । अब बिराले उसलाई भेट्छु भनेका समयहरू एक-एक गरी सम्झिन खोज्यो–

पहिलो पटक
बिराले कलेजमा भर्ना-फारम भरी माग्ने बहानामा भेट्ने र गफिने इच्छा लुकाएकी थिई । पण्डितले लुकेको इच्छा देखेन । फारम भरिदियो अनि भन्यो– बाइ, ह्याभ–अ–गुड्–टाइम ।

दोस्रो पटक
नोट बुक ल्याइदे न तेरो, भन्दै उ एउटा कफीसपमा बोलाइएको थियो । अर्को पटक त्यही नोट बुक फिर्ता लिन समेत सोही ठाउँमा पण्डित पुग्यो । उसले दुबै पटक नोटबुक बुझाउने, फिर्ता लिने र बाटो लाग्ने काम गर्यो ।

दुई मिनेट गफिन पनि चासो दिएन भन्ने सोचेकी रहिछ बिराले ।

पण्डित खुला थियो र खाली थियो– उसका बिरासित बोल्ने विषय नै हुदैनथे । बिरा भरिएकी थिई । तर खुल्न सक्दीनथी ।

यस्तो धेरै पटक भयो ।

पण्डितले उसका निमित्त जे जति काम गरी दियो ती सबै बिराका भेट्ने बहाना मात्र थिए भन्ने उसले बुझेकै थिएन । जब बुझ्यो कलेज पनि सकियो । बिरा पनि तन्काएर छाडेको गुलेलीको मट्यांग्रा बनी सकी ।

“बाइ, शुभ समय !” उसले बिराको फोन सम्झियो ।

बिरालाई दिनु पर्ने उत्तर उसको मनमा तयार हुँदै थियो– “ठिक भनिस् बिरा ! हो त, म व्यस्त मान्छे हुँ । एउटै कुरामा एकोहोरो सोच्छु । कहिले महिनैसम्म पनि एउटै विषयमा अल्झिरहन्छु । मलाई सतहका कुरा त्यति थाहा हुँदैनन् । म गहिराईका कुरा मात्र महसुस गर्छु ।

तँ नै भन् त– फारम भरी दिने कुरा, नोट बुक दिने र फिर्ता लिने कुराको गइराइमा के हुन्छ ? केही हुन्छ त ?

हेर, म कामको मान्छे हुँ । काममा सम्झिदा त पुगेकै छु नि हैन ? भेटै नहोस् तैले नभनेको  उत्तम हो । बरु बेकाममा तेरो मेरो भेट हुँदै नहोस् । मन लागे काम पर्दा सम्झिएस्…

बाइ, ह्याभ–अ–गुड्–टाइम् ! अर्थात् तेरै शब्द “बाइ, शुभ समय !

Mimraj Pandeya

Mimraj Pandeya is passionate about storytelling, philosophy, and personal growth. Driven by curiosity, he delves into cultures, literature, and the human experience. Always learning and striving to be genuine, Mimraj shares his knowledge with those around him. He is committed to making meaningful connections and building a strong personal brand. Above all, he values his love for Nepali poetry, family, and justice.