Skip to content

 कविता – चम्चालाई भोट

ने१ मिनेट

चम्चा तिम्रो हातमा थियो
थाली तिम्रै भुइँमा थियो
डाडु, पन्युँ, ताउलो र ताप्के
तिम्रो भान्छामा थियो
तर पोहोरको चुनावमा
तिमीले चम्चा रोज्यौ।

तिमीले चम्चा रोज्यौ
किनकि थालको मासुभात
रसिलो रसबरी
र कचौराको लालमोहन
भर्खर तिम्लाई चम्चाले चखाएको’थ्यो।
 
क्षणिक चम्चे स्वादमा लट्ठिएर
तिमीले होस नै गुमाएको भेउ पाएनौ
आफ्नोपन गुमाएको भेउ पाएनौ
बोल्ने जिब्रोमा नियन्त्रण
सुन्निने शब्दमा नियन्त्रण र देखिने दृष्यमा पनि
चम्चाकै नियन्त्रण हुन गयो
हिजो तिम्रो मुखमा पसेको चम्चा
आज अर्कैको मुखमा गयो

बरू तिमी विवेकी भएको भए
ताउलो चुन्नु पर्ने
ताप्के वा कराई चुन्नु पर्ने
डाडु वा गहिरोखाले पन्युँ चुन्नु पर्ने
करूवा, अम्खोरा वा गिलासै भए पनि चुन्नु पर्ने
तर, तिम्रो सङ्कीर्णताले चम्चा नै रोज्यौ।

अब भोकमा बिक्ने भुल नगर
लालचमा लोभिने लहड नराख
बरू परिवार पाल्ने पौरख सुधार
घरको छानो बलियो पार
चुनावको फोहोर भान्छामा बस्न नदेऊ
भ्रष्ट चम्चा मुखमा पस्नै नदेऊ

यसपालि भोट डाडुमा हाल
पन्युँमा हाल
थाल, कचौरा र गिलासमा हाल
तर चम्चामा भोट हाल्दै नहाल
आज तिम्रो मुखमा पसेको चम्चा
भोलि अर्कैको मुखमा पस्ने छ 
अर्कैको मुखमा पस्ने छ।

सेतोपाटी, वैशाख २३, २०७९

2 responses to “ कविता – चम्चालाई भोट”

  1. That was amazing

  2. Really impressed with the loading speed and the overall design. It is very intuitive even for beginners. My go-to is pkkk77

टिप्पणी लेख्नुहोस्

वा फेसबुकबाट साइन इन गर्नुहोस् (वैकल्पिक)