Skip to content

‘चिसो मान्छे’ चिसा मान्छेहरूकै कथा हो त?

ने६ मिनेट

Chiso Maanchhe

चलचित्र ‘चिसो मान्छे’ कसको कथा हो ?

विदेशमा श्रीमान् गुमाएकी बाजुरेली महिलाको ? कि स्वदेश फर्की आएको त्यो लासको हो ? कि यो कथा तिनै मृतकका बाबुको हो ? हैन यो कथा त, त्यो गाडी चालकको पनि त हुन सक्छ ? 

फिल्म हेर्दै हुनुहुन्छ वा हेरि पनि सक्नु भयो होला । त्यसैले ‘चिसो मान्छे’ खास कसको कथा हो; त्यो तपाईँहरू नै खुट्ट्याउनु होला । तर यो कथा बाजुराका चिसा मान्छेकै भने होइन है ।

चलचित्रकी मूल पात्रले भने अनुसार, चिसो मान्छे त्यो हो; जसले अति कम उमेरमै उनलाई बिहे गरि ल्यायो । घरमा दिनुसम्म दुःख दियो, दमन गर्‍यो, अत्यन्त पीडा दियो र नियमित हिंसा सहन बाध्य बनायो । उसले अन्याय विरुद्ध कहिल्यै कसैलाई बोल्न दिएन । अन्ततः तीनलाई बेमतलब गाउँमा छाडी उ विदेश गयो । 

अर्थात् त्यही मान्छे जो अहिले विदेशी रातो बाकसमा चिसिएर आएको छ ।

मलाई लाग्छ; यो केबल एक ड्राइभर र दुई ससुरा–बुहारीको यात्रा कथा हो, त्यो पनि बन्दाबन्दीको बेला काठमाडौँदेखि बाजुरासम्मको । यो यात्रा हेरेर तपाईँलाई उति मनोरञ्जन मिल्ने वाला छैन । किन भने यस चलचित्रमा ठाउँहरूलाई राम्ररी स्थापित गर्न सकिएको छैन । मन छुने दृश्यहरू तपाईँले फिल्ममा भेटाउनु हुन्न । कुन बेला कहाँ पुगियो भन्ने भेउ पनि पाउन पनि मुस्किल हुनेछ, तपाई अलमलमा पर्नु होला ।

तपाई भन्नु होला– लास बोकेर हिँडेको छ, मनमोहक दृश्य किन चाहियो ?

हो, तपाईँको प्रश्न ठिक हो । तर मैले भने नि यो कथा त्यो चिसो मान्छेको अर्थात् त्यो लासको होइन । तपाईँलाई फिल्मको सुरुवात हेरेर लाग्ला– यो लासकै त कथा हो, यो त्यै चिसो मान्छेकै कथा त हो । 

होइन, यदि यो चिसा मान्छेको कथा हुँदो हो त, चिसा मान्छेले गाउँमा महिलाहरूलाई गर्ने गरेको चरम दमन र यातना तपाईँले फिल्ममा देख्नु हुन्थ्यो । मान्छे कसरी चिसो बन्यो त्यो देख्नु हुन्थ्यो । चिसो बन्नुका कारण र परिणतिहरू पनि देख्नु हुन्थ्यो । तर गाडीमा एक लासको बाकस, एक गम्भीर र परिपक्व ड्राइभर, एक जँड्याहा ससुरा र एक बरालिएकी बुहारी; यत्ति हो तपाईँले देख्ने । काठमाडौँबाट उनीहरू बाजुरा पुग्दा फिल्म नै सकिन्छ ।

पटकथाको परिवेश कोरोनाको चर्तिकला हुँदा बखतको रहेछ । त्यसैले चलचित्रमा सडकहरू सुनसान तथा खाली देखाइएको छ; त्यो मिल्दोजुल्दो नै छ । तर त्यस बेला विदेशबाट लास नेपाल झिकाउनु सहज थिएन । जुन तरिकाले चलचित्रका पात्रहरूले चिउँडोमा मास्क लगाएर हिँडेको देखाइयो त्यसरी हिँड्न पाइँदैनथ्यो । त्यसमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यो तरिकाले त छिर्नै मिल्दैनथ्यो । फिल्म न हो– छाडिदिनुस् यस्ता कुरा । जसले जति नै सम्झाए पनि, जति नै बुझाए पनि मान्छेहरू त मास्क लगाउन आनाकानी गर्थे भने यत्ति कुराले फिल्मलाई किन कमजोर बनाउनु । 

फिल्म हेर्नु भएको छैन भने हेर्नुहोला । तर तपाईँलाई म फिल्मका केही कुरा चाही बताउँछु– फिल्ममा विमानस्थलबाट लास बुझेर ससुरा–बुहारी ड्राइभरसहित बाजुराका लागि हिँड्छन् । लामो बाटो कटेपछि एउटा प्रहरी चेकपोस्ट आउँछ । ट्राफिक प्रहरीले मागेका कागजात नपाएपछि सिधै घुस माग्छन् । ड्राइभरले घुस दिन मान्दैनन् र प्रहरीले उनलाई कुट्छन् । यो सारै अवास्तविक दृश्य हो, यस्तो कुनै चेकपोस्टमा पनि हुँदैन । सिनेमा समाज भन्दा धेरै पर पनि जानु हुँदैन ।

अर्को, अमिल्दो कुरा– उनीहरू अछाम कटेर बाजुरा छोएसँगै एउटा पुलको दृश्य देखाइन्छ । केही युवाहरू बाटो थुनेर बसेका हुन्छन् । उनीहरूले त्यो लास बोकेको गाडी अघि बढ्न दिँदैनन् । उल्टै गाडीको तीनओटा टायरमा प्वाल पारिदिन्छन् । बाटो अवरोध गर्ने एक युवाको के भनाई हुन्छ भने, “बन्दाबन्दीको बेला काठमाडौँमा आफूहरूलाई प्रवेश पाउन सारै दुख दिइन्थ्यो, यो त्यसैको बद्ला हो– प्रवेश निषेध ।” त्यसो हो भने त्यो अनावश्यक घुसवाला चेकपोस्ट देखाउनुको सट्टा लकडाउनको बेलाको थानकोट चेकपोस्ट देखाएको भए अझ अर्थपूर्ण हुन्थ्यो नि ।

खैर ठिकै छ । कोरोना काल, गाडीमा लास, साँझको समय, काठमाडौँबाट घर आउँदै गरेका दुई ससुरा बुहारी र एक ड्राइभर । बाजुरा जाने मुख्य सडक नै त्यही भएकाले त्यसरी बाटो थुनेर बासेको कोही पनि नहुनु पर्ने । भए पनि मूल सडकमा ट्राफिक प्रहरी हुने हो, फटाहा केटाहरू होइन । फिल्मलाई अझ वास्तविक बनाउने हो भने कुनै न कुनै मद्दत गरि घर पुग्ने व्यवस्था गरिनु पर्ने हो । हामी पनि त बन्दाबन्दीकै बेला काठमाडौँबाट बाजुरा गएका हौँ । बाटोमा त्यसरी कसैले रोकेनन् । बस्ती मै पस्न पो पाइँदैन थियो तर त्यसको सट्टा क्वारेन्टीनमा त बस्ने व्यवस्था थियो नि । यसर्थ, ‘चिसो मान्छेले’ कोरोना कालको वास्तविक दुःखको चित्र पनि देखाउन सकेन । यहाँ पनि यो चलचित्र कमजोर देखियो ।

फिल्ममा भाषा र वेशभूषा मिल्दोजुल्दो नै छ । तर म्युजिक भने परिवेश सुहाउँदो छैन । कुनै पनि समाजको बलियो पहिचान त्यहाँको आफ्नै कला, संस्कृति र सङ्गीत हुन्छ । कथामा बाजुराको परिवेश छ भने जतिसुकै मीठो पूर्वेली सङ्गीत प्रयोग गरे पनि त्यसले मन छुन सक्दैन । ‘चिसो मान्छेको’ क्लाइमेक्स हेर्नुस् न; लास ठिक्क घरमा पुगेको छ । आफन्त र परिवारका मान्छेको घुइँचो छ । परिवारमा रुवावासी छ । त्यहाँ नेर म्युजिकले त्यो शोकाकुल संवेदनालाई फितलो बनाइदिएको छ । बरु न्याचुरल साउन्डमा साइलेण्ट छोडिदिएको भए; त्यो दृश्यले दर्शकलाई कति रुवाउँथ्यो । फिल्मले नरुवाएको होइन मेरै छेउकी साथी पनि रोइन् । तर फिल्म अझै दमदार बनाउने धेरै ठाउँहरूमा ‘चिसो मान्छे’ टिम चुकेको देखिन्छ ।

सम्पादनमा पनि उस्तै फाटाहीपन देखियो । गाडी बाजुरा सदरमुकाम नजिकैको राप्क पुगेपछि ससुरा बुहारी र सवारी चालक सडक छेउमा बसेर चाउचाउ/चिउरा खान्छन् । बुहारी पिङ खेल्छिन् । फेरी ‘बाजुरा बजार’ भन्ने ठाउँमा गाडी देखाइन्छ र त्यहाँ फेरी युवाहरूले प्रवेशका लागि अवरोध गर्छन् । यो त उनीहरू १/२ घण्टा हिँडेर आइसकेको बाटो हो नि । राप्क कटेपछि त मार्तडी तिर पो आउने हो फेरी उता बाम्का बजार वा बाजुरा बजार चैँ किन जाने ? अनि अर्को कुरा; गाउँपालिकाको नियम… भन्ने डाइलग छ; त्यो ठाउँ नगरपालिका हो, गाउँपालिका होइन । यस्ता कुराले फिल्मलाई वास्तविकता भन्दा पर लैजाँदो रहेछ । जे होस्, कलाकारले त राम्रो अभिनय गरेका छन् । फिल्म ‘भर्बल्ली’ ठिकै छ, ‘भिजुअल्ली’ भने दमदार छैन । नयाँपन खासै भेटिन्न– कथामा पनि, मेकिङमा पनि । मुख्य पात्रको लक्ष्य पनि प्रस्ट छैन, उपलब्धि पनि देखिँदैन । तिनले “हाम्बा पनि रहड छिया, सपना छिया” त भनिन् तर ती रहड पूरा गर्न सायद ‘चिसो मान्छे– २’ बन्ने होला । यहाँ पूरा हुँदैनन् । फिल्म लख्ने/बनाउनेले नाम चाही रामै दिएछन्, कथा भने राम्रो दिन सकेनन् । ‘चिसो मान्छे’ साँच्चै चिसा मान्छेहरूको कथा बन्न सकेनछ ।

सुन्नलाई माथि क्लिक गर्नुहोस् ।

3 responses to “‘चिसो मान्छे’ चिसा मान्छेहरूकै कथा हो त?”

  1. The odds here are fantastic and the variety of games is insane. I always have a blast playing here on weekends. Visit kr3xbet for a win!

  2. Best betting experience I have had in a while. Everything is transparent and the odds are quite competitive. Big thumbs up for br442bet.

  3. Best experience I have had in a long time. Everything from the deposit to the actual gaming is handled professionally. I highly suggest vnzx888 to everyone.

टिप्पणी लेख्नुहोस्

वा फेसबुकबाट साइन इन गर्नुहोस् (वैकल्पिक)