Skip to content

अरुण बरालको कविता : फक्ताङलुङ र कोशी किनार

ने२ मिनेट


घामको रंग घोप्टिएर
पहेंलो देखियो हिमाल ।
शयन कक्षको ‘डिमलाइट’झैँ
मधुरो देखियो पहाड ।
लाग्छ- हरेक गोधूली साँझ
बासना बोकेर आइरहेछ
भुइँकुहिरो– तमोर बोकेर ल्याइरहेछ ।
०००
फक्ताङलुङको फेदमा
मुजिङना खेयोङनाझैँ
रुखमाथि चढेर पिपिरी बजाउँदै
सत्यगुरु साँहिली हावामा सुसेली हाल्छे–
आऊ, पेनेबा हात समाऊ !
०००
ए अर्धचन्द्रनयनी !
कोशीको चिसो जलझैं
नक्सा मात्र हुँ म
बासनाको भीरफूल टिप्न सक्दिनँ ।
साँहिली !
तिमी हिमालको शीरबाट आयौ
म गंगाजीको तीरबाट आएँ
तिमी प्रकृति– निष्काम उदायौ
म परलोकको यात्री– कामविशेषले आएँ
म बीज/तिमी धर्ती
म पुरुष/तिमी स्त्री
मलाई माफ गरिदेऊ साँहिली
मैले तिम्रो हात छुन मिलेन
अपवित्र हुन मिलेन ।
तिमी खुवालुङमा तान बुनेर बस
म कोशी किनारमा ध्यान गरेर बस्छु
मलाई माफ गरिदेऊ सत्यगुरु साँहिली !
०००
बाजे !
कोशीमा फक्ताङलुङको जल मिसिएको छ
पवित्र गंगाजीमा मुजिङनाको मल मिसिएको छ
तिम्रो नाकमा
मेरो शरीरको सुगन्ध ठोक्कियो कि ?
म रजस्वला हुँ, तिम्रो ध्यान रोक्कियो कि ?
सुँघे हुन्छ मलाई, म फूल हुँ
बिर्सिदिए पनि हुन्छ, म भूल हुँ
तिमी बग्ने बगरको म मूल हुँ ।
०००
ए मत्स्यगन्धा !
म परासर भएँ ।
कुहिरोले ढाक्यो,
निराकार भएँ ।
आऊ मेटाउँ दुई आत्माको प्यास
जन्माउँ एउटा साझा बेदव्यास
‘सुसुवा लिलिम’ जन्माए पनि हुन्छ
मेरै बीजबाट ।
०००
माफ गर बाजे !
म उर्बर हुँ/उर्वर्शी हैन
रंगीन हुँ/अर्धाङगिनी हैन
सुगन्ध हुँ/बासना हैन
प्रकृति हुँ/विकृति हैन
बुझेनौ तिमीले हिमालको रस
गड्तीरमै अब ध्यान गर्दै बस ।
०००
प्रलय आयो सम्बन्धमा–
बाढी पस्यो बाँधमा ।
न नदी/न बगर
न शून्यता/न आकार
न मिलन/न विछोड
न रहस्य/न निचोड
न असार/ न सार
न परलोक/ न संसार
न देखियो फक्ताङलुङ
न रह्यो कोशी किनार !

कमेन्ट गर्नुहोस्

कमेन्ट गर्न फेसबुकबाट साइन इन गर्नुहोस्। फेसबुकबाट साइन इन

Previous
Next