Skip to content

नढलेको स्कूल र नउठेका विद्यार्थी

ने३ मिनेट

केहि आठ, केहि दश र केही बाह्र वर्ष हुदै विद्यालय हाता भित्रका रुखहरु ढले ।

पन्ध्र, अठार र बीसका हुँदै यहाँको पाखो र खेत जोतेका गोरुहरु ढले ।

मओवादी जनयुद्धसँगै छुवाछुत र छाउपडी ढल्यो । जाँड, रक्सी र जुवा–तास बन्द भयो । छोरीले पढ्नु हुदैन र पढाउनु पनि हुदैन भन्नेहरुको कुबुद्धी ढल्यो । स्कूलको धूपीको छानो खाने धमिराहरु पनि ढले, तर स्कूल ढलेन ।

प्रसंग हो मेरै गाउँको बुढो स्कूलको अर्थात् बा’हरुले बाह्रखरी सिकेको स्कूलको । यो स्कूल स्थापनाकाल देखि नै जस्ताको त्यस्तै छ । त्यस्तै पनि छैन । कामजोर छ, दुर्बल छ र नाजुक छ । “बा’हरुले कक्षा ५ सम्म जे पढ्थे/सिक्थे छोराहरुको पालामा त्यति पनि सिकिदैन/सिकाइदैन रहेछ ।” यहि भन्छ हरेक वर्ष छोराहरुकै नतिजाले र यहि भन्छन् गाँउबाट पढ्न सहर झरेकाहरुले ।

तनावै–तनावमा भएको विरामीले ‘धेरै तड्पिनु भन्दा चाँडै मर्न पाए हुन्थ्यो’ भन्ने कामना त्यसै गर्दैन । स्याहार गर्दागर्दै सुधार नभएपछि उसका स्याहारेले त्यसै सोच्दैनन्– “बरु चाँढै मर्दिए हुन्थ्यो यति दुख हुनु भन्दा त ।” आफूले नसकेको र अरुले नगरेको देख्दा यस्तै लाग्छ– त्यो स्कूल पनि किन ढलेन ।
स्कूल ढल्नै पर्ने त होइन र विद्यार्थी उठ्नै नपर्ने पनि होइन । तर स्कूल मात्रै ढलेको छैन ।

“मैले त पढ्नै सकिन” भन्नेहरु अरबमा छन् । “मैलै त कमाउनै सकिन” भन्नेहरु बम्बईमा छन् । खेत भएकाहरु खाडीमा, परिवार गाउँमा, पौरख परदेशमा । गाँउमा त छोराछोरी मात्रै छन्– पढ्न नसक्ने र कमाउन नसक्नेहरुका ।

उनीहरुले विद्यालयमा के पढ्छन् होला ? घरमा के सिक्छन् होला ? अहिले कसैले नसोधौँ र नसोचौँ । उमेर भएपछि बुझुन् या पछुताउन् छोडिदिउँ तिनीहरुकै भागमा । हातमा सिगाँन फुटेर चिरा, माटोले कुर्कुच्चा फुटेर चिरा । फुटेको पाइन्ट, टाँक झरेर गाँठा पारेको कमिज । कहिलेकहीँ जुत्ता, कहिले चप्पल त कहिले खाली खुट्टै घर–स्कुल, स्कुल–घर गर्न दिउँ अझै केहि दशक ।

जाउँन् न उनीहरुपनि केहि दशकका लागि खाडी । हराउन् उनीहरुका केहि पुस्ता पनि मुग्लान तिरै ।

गाउँमै भएका, पढे–लेखेकाहरु हो; बालबालिकाको भविष्य तिम्रो चिन्ता होइन । किसानको उब्जनी तिम्रो चिन्ता होइन । हटेरुको कमाइ तिम्रो चिन्ता हाइन । परदेशीको पीडा तिम्रो सरोकार होइन । गाउँको विकास र समृद्धि त तिम्रो बसमा छैन । त्यसैले तिमी आफूलाई नेता बनाइरहु । खाली बस्नु भन्दा गाउँमा बाकीँ रहेकाहरुलाई बटुल । उनीहरुलाई राजनीतिको ढुङ्गा हान्ने कोर्स सिकाउ । सके तिम्रा कार्यकर्ता बनाउ–फकाउ । नसके भड्काउ र लडाउ एक–आपसमा ।

अरब छिरेकाहरु कमाई राम्रो भएपछि निस्किउन् या कमाई गुमाएपछि । हटेरुहरु जहानलाई लुगालत्ता किनीसकेपछि फर्किउन् या लुटिएपछि । महरु पढाइ सकेपछि फर्किउँ या पढ्नै नसकी । तर तिमी त्यहाँ छौँ, त्यसैले स्कूल जाँदै गरेका ती बालबालिकालाई गाँउ छोडेर फेरी कहिल्यै गाउँ नफर्किने वातावरण बनाउ ।

म नडराइ भन्छु– तिमी उठ्नै सकेनौ, म पनि उठ्नै सकिँन ।

यहीँकै माटोको चक र यहीँकै ढुङ्गे–सिलौटोबाट साक्षर बनेकाहरु कोहिपनि उठ्न सकेनन् । उही खेत, उही खेताला, उही मल र उही विउ; कोहि पनि उठ्न सकेन । यहि सोच र सामथ्र्यले हाम्रो भविष्य पनि उठ्न सक्ने छैन । विक्रम सम्वत् २०२६ सालमा खुलेको यो स्कुल पनि अब ढल्ने छैन भन्न सकिन्न । २६ सालमै बाह्रखरी जानेकाहरु पनि अब नढल्लान् भन्न सकिन्न ।

तिमीहरू भने जरा मज्जैले गाढेर बस । किनकी, यी सबै उठ्न सके भने तिमी उठ्नै नसकि ढल्नु पर्नेछ ।

***

(विस २०२६ सालमा स्थापित श्री भवानी निमावीको भवन । यो विद्यालय आज भन्दा ३–४ वर्ष अगाडी प्राविबाट निमावी भएपनि पठनपाठनको गुणस्तरीयता २६ सालको भन्दा राम्रो हुन सकेको छैन ।)


२०२६ सालमा स्थापित श्री भवानी निमावीको जिर्ण भवन, जहाँ अहिले पनि पठनपाठन हुन्छ ।
विद्यालय बन्द रहेको समयमा विद्यालय हाता भित्र गाई वस्तु चर्दै ।

टिप्पणी लेख्नुहोस्

वा फेसबुकबाट साइन इन गर्नुहोस् (वैकल्पिक)

2 responses to “नढलेको स्कूल र नउठेका विद्यार्थी”

  1. The app version is way better than the browser. It is so convenient to play on the go. Just use 8k8casinoapplogin to get started.

  2. Love how seamless the mobile experience is on this app. I use it daily for tracking matches and the interface makes everything so easy to navigate. Perfect for fans who want a reliable companion on the go. tipclubapp

टिप्पणी लेख्नुहोस्

वा फेसबुकबाट साइन इन गर्नुहोस् (वैकल्पिक)