Skip to content

Mimraj Pandeya

Journalist · Poet · Storyteller

घडियालको जन्मदिन

ने१ मिनेट


गिन्नी केक ल्याउँदै नल्याउनू

यसपालि घडियाल अघाएको छ


दसकौंसम्म

यसले कीरा, माछा, भ्यागुता र छेपाराहरू खायो

वर्षौँसम्म मान्छेहरू पनि खायो

पछि के भयो कुन्नी

यसलाई कीरा, माछा, भ्यागुता र छेपाराहरू गन्हाउन थाले

मान्छेहरू पनि साह्रै घिन लाग्न थाले


त्यसपछि घडियालले स्यालको सुकुटी अड्कल्यो

बाघको बोसो पनि अड्कल्यो

कस्तुरीका करङ र हात्तीका हड्डी पनि

धुलो धुलो पार्‍यो

जलभित्रका र जलबाहिरका सबै जीवहरू चाख्दा पनि

जिब्रामा स्वाद नपरेपछि

घडियाल शाकाहारी बनेको‘थ्यो।


केही वर्ष यसले

जुम्ली स्याउका सुकुटी चाख्यो

मार्सी धानको भात पनि खाई हेर्‍यो

हुम्ली फापरको रोटी,

जौको सातु, ओखरको तेल, पाटनको बुटी,

भिरको सिलाजित सबै चाख्यो


पछिल्ला वर्ष

यसले स्वाद फेर्न पैसा चाख्यो

कर्मचारीसँगै घुस चाख्यो

व्यापारीसँग मिल्यो- कमिसन चाख्यो

नेताको सङ्गतले होली वाइन चाख्यो

चाख्न बाँकी केही नदेखेर घर फर्केको घडियाल

हिजो मात्रै

आफ्नी भतिजीको बलात्कार गर्न पुगेछ


गिन्नी, अब मैनबत्ती हैन मट्टितेल ल्याऊ

पटकाको ठाउँमा कार्तोस ल्याऊ

यसपालि केक ल्याउँदै नल्याऊ

घडियाल अघाएको छ

जन्मदिनमा यसलाई चिता चाहिएको छ।
Previous
Next

तपाईंलाई कस्तो लाग्यो?

Responses

Leave a Reply

कमेन्ट गर्न फेसबुकबाट साइन इन गर्नुहोस्। फेसबुकबाट साइन इन