मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी बस्तीहरूमा पुग्नु भयो भने त्यहाँका घरहरू देखि तपाइलाई आश्चर्य लाग्न सक्छ ।
माटोका छत– पहिलो घरको छत दोस्रोको आँगन, दोस्रो छत तेस्रो घरको आँगन हुने गरी खपीएका । मेरा घरको आगनी हुने गरी जोडिएका घरका छतहरू मध्ये सौँरा पाण्डेको घर पनि एक ।
थोरै सङ्ख्यालाई छाड्ने हो भने सौँरा गाउँका सबैकी बजै अर्थात् बज्जु । गाउँमा उनको सबैभन्दा जेठो नाता ।
०००
म ढोका तर्फ सिरानी गरी सुत्थेँ ।
मेरो घरको ढोका र सौँरा बज्जुको छतबिच सानो बाटो छ । जुन छेउको छतमा गाउँलेहरूले सभा–कचहरी गर्न जाँदा प्रयोग गर्छन् ।
त्यहाँ भएका सयौँ भेला भन्दा बढी सौँरा बज्जुका दिनचर्यामा मेरो ध्यान जान्थ्यो ।
उनी स–साना कुरामा रिसाउने र चित्त दुखाउने स्वभावकी ।
खेतमा गाईबस्तु पस्यो कि छतमा आई कराइहाल्ने । एक दिन मात्र होइन– सबै दिन ।
कहिले छिमेकीले खुर्सानी चोर्यो , कहिले टमाटर, कहिले भाण्ट, धनियाँ, लसुन…
यस्तै निहुँले हरदिन पौने घण्टा जति त्यही छतमा आई गाली गर्थिन् । उनको त्यस्तो गालीले समग्र गाउँलेको चरित्रको चित्र दाबी गरिरहन्थ्यो ।
सधैँ जसो निद्रा बिगारिदिने लाटी भनेर रिस उठ्थ्यो मलाई । म दिक्क हुन्थेँ ।
तर पछिल्ला दिनहरूमा म छक्क पर्न थाले ।
छोरा–छोरी छैनन् । भएका वृद्ध पति पनि बितेको निकै वर्ष भयो । उनी हरेक दिन सबेरैदेखि सक्रिय र ताजा देखिने ।
एक्लो ज्यान, सानो घर र थोरै सम्पत्तिको कत्रो माया हो ? कत्रो चिन्ता हो यिनलाई ?
उनको खटाइ देखी म मोहित थिएँ ।
लाग्थ्यो– सौँरा सानैदेखि यस्तै थिइन होला त ?
अनि, उनी आउँदा यो गाउँ कस्तो थियो होला ?
उनी कसरी भिज्दै गइहोलिन् यस गाउँमा ?
उनको आँखाले यो गाउँ कस्तो देखिन्छ, आजकल ?
यस्ता प्रश्नले धेरै पहिलेदेखि घोचिरहेका थिए । यसपालि सोध्ने र सुन्ने मौका पाएँ ।
सन्तोष मिल्यो ।