आमा! तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, हगी ?

आमा, तिमीले सिकाएको भाषा र गुरुले दिएको दिक्षा दुवै उपयोगमा आएका छैनन् । 

सानोमा बाले हात समातेर ढुङ्गाको सिलौटामा माटोको चकले लेख्न सिकाएका बाह्रखरीको मात्रै आजसम्म साथ पाइरहेको छु । अनि कोइलाले घरको भुई कोर्दै चिनाएका देवनागरी लिपीका अंकहरुपनि बढिजसो प्रयोगमा आएनन् । बरु हिन्दु अरेबिक लीपीका अंकहरु चाहिँ बढी चाहिए, आजसम्म ।

तिमीले सिकाएको भाषा त तिम्रो र मावली गाउँको कथा बुझ्न मात्रै काम लाग्ने रहेछ । लाग्दैछ– यसरी नै हरेक आमाले आफ्ना र माइति गाँउका कुरा बुझ्ने भाषा मात्रै छोरा–छोरीलाई सिकाएकी हुदिहुन् । 

गुरुले सिकाएका कतिपय कुरा मसँगै शहर पस्न सकेनन् । पस्न सकिहाले पनि आफ्नो लागि आफै स्थान बनाउन सकेनन् ।

धुलाचौरको स्कुलको भुईमा झरेका बक्काइनाका गेडा अञ्जुलीमा थप्दै–हटाउदै पाण्डेसरले सिकाएको प्ररम्भिक गणितीय हिसाब– जोड घटाउ; त दाल तरकारी किन्दा र घरभाडा बुझाउदा मात्रै प्रयोगमा आएको छ । कक्षा ४ मा चिनेका अक्षर– एबीसीडी, पाँचमा पढेका शब्दहरू र छ/सात कक्षाएता नबिराएका वाक्यहरु मात्रै आजभोली बोलिचाली र लखापढिमा सक्रिय छन् ।

यहाँ हुने कतिपय सेमिनार तथा गोष्ठीहरुमा म सहभागी भइहाले भने ट्वाल्ल पेरेर हेहिरहनु पर्ने बाध्यता मात्र छ । परार साल तिमी, हाम्री ठुलीआमा, र काकीहरु केअर नेपालको जनचेतनामूलक भेलामा अलमलीएका थियौँ नि हो त्यस्तै । उनीहरू बोलिरहेका मुख हेरी रहन्थ्यौ, त्यसपछि केही बुझेझै गरी मुस्कुराउदै मुन्टो पनि हल्लाउदथ्यौँ । साँझ, घरमा आइपुगेपछि भन्थ्यौ– “ती मान्ठले त क्या भन्या क्या भन्या, एकै कुणो पनि बुझिएन ।” हो, मलाईं पनि त्यस्तै हुन्छ कहिले कहीँ । त्यति बेला त्यहा स्थानीय होइन नेपाली भाषा बुझ्नु पर्ने थियो । यहाँ चाहिँ अग्रेजी भाषा बुझ्नै पर्ने । दैनिक जसो अङ्ग्रेजीमा पोख्त भइन भनी पछुताउछु र नेपाली शुद्ध लेख्न र बोल्न परे डगमगाउँछु । आमा, तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, हगी ?

ए, एउटा कुरा त भन्नै बिर्से । झन् यही कुरा तिमीलाई थाहा दिउँला भनेर चिट्ठी लेख्न आँटेको । आमा, हाम्रो गाँउको भाषामा त दुई/चारओटा चलचित्र बनेका छन् नि । बुझिनौँ ‘चलचित्र’ भेनेको ? फिलिम क्या फिलिम । ६२ सालतिर बाले सुनाएका थिए नि । भारतबाट कमाएर ल्याएको धनमालको भुण्टो फुकाउदै “त्याँ त ठुलो घरमा सनिमा धेखाउदा रह्या छन् । बस्याका सिटम्बै कत्रा कत्रा माण्ठ धेखिँदा ।” बाले भनेको त्यो कहिल्यै नसुनेको कुरामा कहाँ हाम्रो ध्यान जान्थ्यो र ? म त तीन–चार गोटा मिस्री र गुडको एक चोइटोमै रमाएँ । तिमी बाले ल्याएदिएका सारीचोलोमा ।

बाले भारतमा कि सिनेमा, की फिल्म, की त पिक्चर सुनेका थिए होलान् तर घरमा आइपुग्दासम्म उनको दिमागमा सनिमा रह्यो होला । बाले भन्थे नि– “कस्ता राम्णा–राम्णा मान्ठ, बोली पनि उस्तै मिठो तर ती  त हिन्दी मात्रै बोल्दा । हाम्बो बोली बोल्दैनन् ।”

आमा, तिमीलाई बुझानउनलाई मात्रै ‘फिलिम’ भन्दैछु है । यो हाम्रो शब्द होइन र अरूको पनि शुद्ध शब्द यो होइन । कि हामीले आफ्नै भाषामा बुझ्न–बुझाउन सक्नु पर्छ । कि त जे, जे हो त्यही बोल्न र बुझ्न सक्नु पर्दछ । आफ्नो सहजताको नाममा अरूका शब्दको असुहाउदो उपयोग पनि गरिदिनु हुँदैन ।

आमा, फिलिममा बोल्ने मान्छेलाई पात्र भन्ने रेहेछन् क्या । ती पात्रलाई जुन भाषामा जे–जस्ता वाक्य र भूमिका दिइएको छ तिनले त्यस्तै बोल्ने र देखिने रहेछन् । कालो पोथी भन्ने नेपाली फिलिमका पात्रले त हाम्रै गाँउको भाषा बोलेका छन् नि । मैले यो फिलिम हेर्दा तिमीलाई कत्ति सम्झिँए । त्यसमा त हाम्रो मामाको सदमुकाम गमगढीको कथा पो रहेछ । म १२ वर्षको हुँदा मामाघर लिएकी थियौँ नि तिमीले । कति रमाएको थिएँ है अामा ! म त्यहाँका केटाकेटिसंग खेल्न । फिलिम हेर्दै गर्दा मामाको घर पछाडिको चाउरमा खेलेको त्येसवेलाको याद पनि आयो । ती हिरो त हामी जस्तै । त्यो वेलाका मेरा जस्तै फोहोर लुगा लाएका । सिँगान चाही मेरो भन्दा कम थियो कमिजका बाहुलामा । मेरो त कमिजको दुवै बाहुलामा कति सिगाँन हुन्थ्यो है, आमा । “मावल आएको वेलामा सिगान निकाल्नु हुँदैन है !” त भन्थ्यो तिमी तर के गर्नु एक दिनमै कमिजका बाहुला काला बनाउथेँ । पर्ख ! दसैँमा म घर आउँदा मोबाइलमा ल्याएर देखाउछु तिमीलाई कालो पोथी ।

अर्को एउटा छक्का पञ्जा भन्ने फिलिम पनि रमाइलै रहेछ । छक्का पञ्जा पनि ल्याउँला दसैँमा । यो फिमिमा चाही एक जना राजा नाउँका मान्छे (पात्र) छन् । तिनले पनि हाम्रो जस्तै भाषा बोल्छन् । तर तिनले बोलेको भाषा हाम्रो कान्छो भाइले सिक्दै गरेजस्तो पनि छैन, अामा । तिनले त हाम्रो स्कुलमा पढाउने पूर्वतिरका सर छन् नि हो तिनैले सिक्दै गरेको हाम्राे गाउँको जस्तो भाषा बोल्छन् ।

गाँउमा धेरैजना जम्मा भएर गफ चुट्ने पटाँङ्ग्रीको चौतारो छ नि, हाम्रो । यहाँ त्यस्तै गफ चुट्ने ठाँउ फेबवुक छ । तिमीले फेसबुक भनेको छोरी–बहिनीले कुरा साँट्–काट् गर्ने पधेँरो जस्तै ठाउँ होला भन्ठान्यौ कि क्याहो ? होइन, यो त मोबाइलमै हुन्छ । एउटा इन्टरनेट भन्ने हन्छ है । हाे, त्यो भयो भने जताबाट पनि गफ चुट्न मिलिहान्छ ।

त्यो छक्का पञ्जा फिलिम हेरेपछि चाहिँ धेरैले आ–आफ्ना तरिकाले फेसबुकमा गफ चुटे । कसैले आजसम्मकै मन परेको चलचित्र भने । कसैले बाहिर हल्ला गरिएजस्तो फिल्म होइन रहेछ भने ।

सुदुर पश्चिमका बढिजसो, जसले छक्का पन्जा हेरे तिनीहरूको टिप्पणी भने आफ्नो भाषामाथी ख्यालठट्टा गरिएको भन्ने थियो । लोकप्रिय देउडा गीतकार राजेन्द्र शाह ‘वीपी’ले चाहिँ ‘हाम्रो (सुदुर) भाषा र भावनामाथि मजाक गर्ने दीपक गिरीलाई जेल हाल्नु पर्छ ।’ भनेर पहिलोपटक फेसबुकमा लेखे । अर्कोपटक सुदुर भाषालाई चटनी बनाएर बासीभात बेच्न खोज्नेलाई रामलाल जोशीको ऐना भन्ने किताब पढ्न सिफरिस पनि गरे । पछिल्लो पटक चाहिँ ‘छक्का पन्जामा भाषा प्रयोग अज्ञानताबस गल्ती भएको कुरा दीपक गिरीले स्वीकारे’ भन्ने पनि फेसबुकमा लेखे ।

कान्तिपुरको काशेलीमा चाहि सावित्री गौतमले ‘टाप कस्नेहरुकै नाममा’ शीर्षकमा चलचित्र छक्का पञ्जाबारे लेखेकी थिइन । उनले महिलालाई हास्यव्यंग्य गर्ने निन्दनीय कार्यक्रमको सिलसिलाको रूपमा यस चलचित्रलाई व्याख्या गरिन् । कथावस्तुमै केन्द्रित भएर टिप्पणी गर्दा उनले भनेकी छन्– “धेरै नागरिकको मष्तिस्कमा अत्यन्त छिटो र गहिरो गरी सम्प्रेषण हुने फिल्मजस्तो असरदार माध्यामको कथा बनाउदा न्यूनतम रिर्सचसम्म त गर्नु वा हरेक समाज–वर्गको मर्यादाको ध्यान राख्नु नागरिककै रूपमा जो सुकै फिल्मकर्मीका जिम्मेवारीभित्र जरुर पर्छ ।” 

भाषा प्रयोग त कहाँ र कसलाई पो निषेध गर्न मिल्छ र, हैन आमा ? देखिनौ, पाँच साात महिना भारतमा काम गरी फर्किएका दाजुभाइ हिन्दी बोल्दैनन् र हाम्रो गाँउमा ? फेरि यो भन्दैमा, मौलिकताको घाँटी निमोठीकन भाषाको प्रयोग गर्नु पनि त न्यायोचित हुँदैन होला नि । अमेरिकी फिल्म मेकर केभिन स्मीथका अनुसार एउटा मान्छेको अस्पष्टता त अर्काको अशिष्टता हुन पुग्छ भने एउटा चिलचित्र पात्रको अस्पष्टता एउटा सिङ्गो समुदायका लागि अशिष्टता बन्न नसक्ने पक्कापक्की कसले गर्न सक्लान् । 

आमा, सुदुरको भाषा तिमीले नै सिकाएकी हुनाले तिमी जत्तिकै म सुदुर भाषालाई पनि माया गर्छु । नेपालीको सम्पती नै नेपाली भाषा भएकाले यसको जतन गर्नु पनि मेरो कर्तव्य हुन्छ । अङ्ग्रेजी भाषाको पनि विश्वव्यापी महत्त्व रहदै अाएकाले यससम्बन्धी ज्ञान प्राप्त गर्नु मेरो आवश्यकता बन्दैछ । म जहाँ पुगे पनि, जे भाषा सिके–बोलेपनि आमा तिमीलाई बिर्सिने छैन । तिमीले सिकाएको भाषालाई भुल्ने छैन । अहिले स्कुल गइरहेको कान्छो भाइलाई भने मातृभाषाको अपमान गर्नु आफ्नी आमाको अपमान गर्नु सरह हुन्छ भनी वेलावेलामा सम्झाउदै गर है । 

सम्मन सहित,
जेठो छोरा, काठमाडौँबाट