ज्यानको बाजि लगाएर पश्चिम यात्रा

परिचित व्यक्तिहरूसँग यात्रागर्न म निकै रुचाउँछु । त्यो भन्दा बढी म अपरिचितसितको यात्रामा रुचाउँछु । र त बढिजोसो दसैँ–तिहार म एक्लै घर पुगेँ अनि फर्किएँ ।

यस वर्षको दसैँमा पनि एक्लै घरजाने योजना बनेको थियो मेरो । तर, काठमाडौँ देखि महेन्द्रनगरसम्म भने भाईहरुसित यात्रा गर्न पाएँ । हुन त एक्लै भारतको टनकपुरसम्म गई धनपैसा कमाएर घरजिल्ला बाजुरासम्म पुर्याउने मेरा पैदलयात्री पुर्खाहरुका अगाडि काडमाडौँबाट २ दिनको बस यात्रा र २ दिन पैदल हिड्नु निकै झिनो कुरा हो ।

काठमाडौँ देखिकै जामका कारण कुरिनटार तिरै एक रात बित्यो । करिब ३० घण्टाको यात्रा पछि दुर्इटा भाईंसंगै म महेन्द्रनगर पुगेँ । राजधानीबाट घरजिल्ला बाजुरासम्मकालागि मैले छुट्टयाएको यात्रावधी मध्यको लगभग १२ घण्टा महेन्द्रनगर नपुग्दै फाल्तु खर्चिसकेछु । यहाँ पुगेपछि यो पनि एकिन भयो– सदरमुकामसम्मै बस जान्छ । भोलीको ३/४ घण्टा पदैल हिड्नु पर्दैन ।

म उत्साहित । मैले जुन बसको टिकट पाएँ, त्यसमा जाने सबै उत्साहित । यतिमात्र होइन बाजुरा जाने सबै बसका हरेक यात्रु उत्साहित ।

महाकाली सेती र पवनदूत यातायात व्यवसायी समिति । यिनैले महेन्द्रनगर–बाजुरा बस सञ्चालन गर्दा रहेछन् । सायद पछिल्लो समयमा सञ्चालन गरिएकाले पवनदूत यातायात व्यवसायी समितिद्वारा सञ्चालित बाह्रसिंगे मेट्रोबसको यात्रा बढिजसोले सुरक्षित र आरामदायी ठान्दा रहेछन् । त्यैसले कान्छाबुबाले मलाई पनि त्यसैमा पठाउनु भयो ।

काउन्टरवालाले टिकटमा बस छुटने समयः १२ बजे लेखिदिएका थिए । तर १ नबजी महेन्द्रनगर बसपार्कबाटै बस निस्कीएन । अलि पर भाँसी, सिसैया, दैजी यी सबै ठाउँमा कतै मान्छे चढाउने त कतै सामान हाल्ने गरेकाले साँझ ३ बजे मात्र हामी नेपाली सेनाको चेकपोष्ट भएको ठाउँ (अजुर्नी ब्यारेक, झलारी) पुग्यौँ ।

नियमानुसार चालकले बस रोके । सहचालक चिच्याए – ‘बाहिर बाहिर फोहोर नगर्या है ।’ केहि छनमै एक जना सैनिक बसको ढोकाबाट दुई पाइला भित्र आई एसो झोला कोचिएको ठाँउतिर मुण्टो घुमाए । सबै यात्रुतिर एक नजर लगाए । अनि बसबाट उत्रिए ।

छत सामानले भरिसकेको थियो । बसभित्र हामी खचाखच थियौँ । बाटोमा अरू यात्रु या सामान नभेटेर नै होला झलारीको चेकपोष्टबाट भने बस हुइकियो । चार बज्यो । पहाडको बाटो नाप्नु अघि बस पूर्व पश्चिम राजमार्गबाट मोडिएर अत्तरियामा पार्क भयो । महेन्द्रनगरबाट आएका अधिकांश यात्रुहरु कोही पानी खाने त कोही शौचालय जाने निहुले उत्रिए । त्यही वेलामा हातमा रसिद र टिकटको अर्धकट्टी बोकेर तिन जना आए । उनीहरू बसका सञ्चालक या सहचालक थिए होलान् । हरेक यात्रुको टिकट हर्दै उनीहरूले दुईजनाको सिटमा तिन र तिन जनाको बसेको सिटमा चारजना बसाल्दै गए । अझैँ ती १२/१५ जनालाई बस्ने ठाँउ पुगेन । जो बाजुरा सम्मको पूर्ण भाडा रु. ११ सय तिरेका थिए ।

तिन दिन पछि त दसैँ थियो । सबैलाई घर पुग्नै थियो । बस सञ्चालकले पनि सबैलाई लैजानु थियो । यात्रु मुढामा बोकेको भेटिएमा नेपाल प्रहरीले बसवालालाई कारबाही गर्ने भनेको रहेछ । सायद, त्यसैले होला ती सञ्चालक/सहचालकले डिकीभित्र भएको त्रिपाल झिके र ओच्छ्याइदिए– ग्यालरीमा ।

‘एक, दुई, तिन । तमी तिनजना याँइ बस । उल्टी आयापछि पलाष्टीक माग्या ।’ भन्दै तिन पङ्तिमा तिन–तिन जना गरी बसको अन्तिम सिटबाटै ढोकासम्मै बाँकी यात्रुहरुलाई बसाले । त्यसपछि आफू ढोका समाति ढोकै छेउमा उभिए ।

हामी महेन्द्रनगरबाटै २/३ अर्थात् २ दुई सिटमा तिनजना बसेर आएका थियौँ । म झ्याल पट्टीको सिटमा नभई ग्यालरी पट्टीको छेउमा थिए । साँघुरो भएका कारण अघि हामीले एक जना बालकलाई (यात्रु) बसाल्न मानेका थिएनौँ । जसलाई अघि हामीले ठाँउ पुग्दैन भन्यौँ । उ त अहिले आफ्नी आमाको काखमा बसेको थियो । उसकी आमा हाम्रै सिटको आडमा ग्यालरीमा बसेकी थिइन् ।

बसको इन्जिन चालु भएसंगै लामो दाह्री पालेका एकजान गाइने दाइ सारङ्गी रेट्दै बस भित्र प्रवेश भए ।

नमुछे आमा दहीमा टिका नछरे जमरा ।
दैवले गर्दा छुटायो आमा आउदिन फर्केर ।

उनको यो गीत सुन्दा घरी उ प्रति करुणा जाग्दै थियो । घरी आफैप्रति त घरी सबै यात्रुप्रति । ती सारङ्गी दाइले हरेक यात्रुको रुचिअनुसार गीत सुनाए र यात्रुले पनि आफ्नो इच्छानुसार पैसा दिएर तिनलाई बिदाइ गरे । केही घर जिल्ला बाहिर अध्यायन गरिरहेका विद्यार्थी, केही उपचार गरेर फर्किएका गाँउले र बढिजसो भारतबाट फर्किएका युवाहरू । यिनै थिए–  बसमा सवार ।

बस गोदावरी तिर पुग्दै थियो । म छेउको ग्यालरीमा बसेकी दिदीलाई अफ्ठ्यारो भएछ । उहाँले भन्नुभयो– ‘मेरा बच्छाकन बोकिदेउ पन । म कन उल्टी आउन लागिगो ।’ मैले नाइ नभनी उहाँको बाबुलाई आफ्नो काखमा राखे । बाबु ११ वर्षको थियो । धनगढीमा कक्षा ४ मा पढ्दो रहेछ । करिब २ बजेसम्म मैले उसलाई बोके । पछि बाजुरा–कोल्टी, सिराडिका कालिबादुर दाइले बोकीदिए । कालिबहादुर बिक भारतको उत्तराखण्ड राज्यको एक प्रमुख सहर पिथौरागढ़ बाट आएका रहेछन् । कतिखेर त्यो सानो भाईसंगका ठट्यौली कुरा त कतिखेर कालिबहादुर दाइका भारतमा काम गर्दाका प्रसङ्गले मलाई घरी हसो उठ्यो घरी घोत्ल्यायो ।

गाडी निकै तीव्र गतिमा गुडिरहेको थियो । मानौँ उसलाई कोही भटाउनै लागेको छ । यदि भटाइहाल्यो भने नराम्रै हुनेछ । अधिकांश यात्रुहरु झ्यालबाट मुण्टो बाहिर निकालेर वाक्क, वाक्क गरिरहेका थिए । मानिस बसेको ग्यालरीबाट समेत वान्ता गनाइरहेको थियो । ३ बज्यो । चालकले खानीडाँडाबाट एकैपटक डोटीको शान्तिनगर पुगेपछि गाडी रोके । यहाँ खानाका लागि रोकिएको थाहा भयो । केहीले खाए खाना । बढिजसो भने एक बोतल पानी र चाउचाउ किनर बसभित्र पसे । ‘खाएपनि नखाएपनि होटेल एउटै रहेछ । के गर्ने बासी खाना खाइयो ।’ अघिल्लो सिटमा बसेका एक जना दाइ बोल्दै थिए ।

‘खाना खाने समय मात्र २१ मिनेट ।’ बसको भित्रपट्टि लोखिएको यो समय सकिएछ । अनि गुड्यो गाडी । दुई चार मिनेटमै त्यसले पहिलेकै गति समात्यो । बस भित्र पनि, सिटमा पनि साँघुरै साँघुरो । सिट छेउको सानो डण्डी खोल्दा म पुरै सिट बाहिर हुन्थे । बन्द गर्दा सिटमा त अड्किन्थे गर तीव्र वेगमा कुदिरहेको गाडी हरेक पल्ट मोडिदा मेरो कम्मर चसक्क–चसक्क हुन्थ्यो । मलाई लाग्छ ग्यालरी तीरको सिट छेउमा बसेकोले यस्तै पिडा महसुस गरे होलान् ।

कुनै विवाह पाटीमा जस्तै चर्को आवाजमा लगातार गीत बजिरहेका थिए । बस भित्रका अधिकांश यात्रुहरु निदाएझैँ भए पनि हरेक मोडमा आँखा खोल्थे पुन डराएझै गरी बन्द गर्थे । मेरो छेउमा (ग्यालरी) बसेकी दिदी भने वेहोस झैँ हुनुहुन्थ्यो । उहाँले यस पटक गरी दुईपटक मात्र बस चढ्नु भएको रहेछ । उहाँलाई गाडीमा निकै वान्ता हुँदो रहेछ । त्यसैले गाडी चढेदेखी उहाँले न खाना खानुभयो न पानी ।

ग्यालरीमा अडेस लाग्ने ठाँउपनि कहाँ आरामदायी थियो र ?  न त समात्ने वा झुण्ढीने ठाँउनै । हरेक पल्ट बस मोडिदा उहाँ मेरो देब्रे खुट्टमा दुवै हातले अँगालो हालेर बसेको ठाँउमा अड्किनुहुन्थ्यो । हरेक पटक गाडी मोडिदा उहाँ चिच्याउनुहुन्थ्यो र उहाँको मुखबाट यही वाक्य निस्कन्थ्यो– ओ दैव, आइ मरिजान्या छौँ । मथि सिटमा बस्नुस् दिदी म उभिएर जान्छु भन्न पनि सकिन मैलै किनकि दुई जनाको सिटमा हामी चार थियौँ ।

गाडीको वेगमा घटबढ थिएन । म अगाडि पछाडिका सिटहरु, ग्यालरी र क्यावीन अर्थात् बट्टाको अचार झैँ खाँदिएकासबै यात्रुहरु हेर्दैथिँए । गत असोज ९ गते रुटपरमिट नभएको यात्रुबाहक बस धादिङको मार्पाकमा दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाउनु परेको कुरा मष्तिकमा घुम्दै थियो । यो सँगै मैले आजसम्म थाहा पाएजतिका यातायात दुर्घटनाहरु एक–एक गरी सम्झिरहेको थिए ।

जब, बसको यात्रा सम्पन्न भयो । सबैले शकुसल पुगेको शुस्केरा हाले । मैले पनि सदरमुकामदेखी घरतर्फको पैदल यात्रा सुरु गरेँ ।

कसैले यकिनका साथ यो नभन्लान् कि बसको क्षामताको तिन गुणा यात्रु बोक्नु नै दुर्घटनाको प्रमुख कारण बन्न सक्छ । तर,  महेन्द्रनगर – बाजुरासम्मको बाटो, यस सडकमा गुडिरहने बसको हरूको बेग र ग्यलरी भरीका यस्तै यात्रुहरुको अवस्थाले यो प्रस्ट्याउछ कि यही हालतमा सञ्चालन हुने गाडी दुर्घटना भयो भने नोक्सान तेब्बर हुने निश्चित छ ।

(अनलाइन खबर र समुद्रपारि डट कममा प्रकाशित लेख । ) लिङ्क :- http://www.onlinekhabar.com/2016/11/499889 & http://samudrapari.com/2016/11/185739