म, मेरा बा र बा’को रेडियो

डाँडामा बादल बेरिँदा र खोलामा हुरी थुनिँदा समेत बा रेडियो सुन्थे ।

छिमेक मस्त निदाई सक्दासम्म पनि बाको रेडियो सुतेको हुँदैन‘थ्यो । बिहान आमा नबिउँझेकै बा‘को रेडियो उठिसकेको हुन्थ्यो । बा यति धेरै रेडियो प्रेमी कसरी थिए, थाहा पाइनँ ।

बा पछि घरमा रेडियो सुन्ने म थिएँ । भारतबाट कमाइ घर फर्किदा बेलाबेला बा‘ले ल्याउने गरेका ५/७ ओटा रेडियो मैले बिगारिदिएको थिएँ । रेडियोका स्वादिला शब्दहरूसामु मलाई बाको गालीको वास्ता हुँदैन‘थ्यो ।

दुवै रेडियो प्रेमी थियौँ । म रेडियो सुनी रहन्थेँ–बिगारी रहन्थेँ । बा इन्डिया गइरहन्थे, रेडियो– नेपाल आइरहन्थ्यो ।

उमेर बढ्दै गयो । मेरो रेडियो मोहले बा‘लाई जित्यो । बिहान सबेरैदेखि राती अबेरसम्म रेडियो मेरै ओछ्यानबाट बोल्न थाल्यो । विद्यालयको पठनपाठन तालिका भन्दा रेडियो नेपालका कार्यक्रमहरूको प्रसारण तालिका मलाई बढी थाहा हुन्थ्यो । कैयौँ आफन्तका आवाज भन्दा त म रेडियोकर्मीका आवाज सहजै चिन्थे ।

साँझ ७ बजेको समाचार धुन बज्दा कोमल वली र म एकै साथ भन्थ्यौँ– “यो रेडियो नेपाल हो । साँझ ७ बजेको समाचारमा स्वागत छ, म कोमल वली । सुरुमा प्रमुख समाचार ।”

त्यस बेला सुरेश शाही र सम्पदा शाहीले चलाउने “भलाकुसारी” कार्यक्रम र पुरुषोत्तम न्यौपानेले चलाउने “सुन्नुस् सुनाउनुस्” कार्यक्रम म बढी सुन्थेँ ।
राष्ट्रकवि घिमिरेसँगै “नाम पनि मधुवन छ, काम पनि मधुवन छ” भन्दा र नवराज लम्सालसँगै “तपाईँको सुख दुखको साथी” भन्दा बडो मजा आउँथ्यो । मधुवन मेरो बढी मन पर्ने कार्यक्रम थियो ।

०००

२०६५ सालमा एसएलसी पास भएँ । कक्षा ११–१२ पढ्न घर छोड्दा रेडियो पनि छुट्यो । आफन्तको घरमा मौन अध्ययन र क्याम्पस कक्षाहरूको चुपचाप श्रवणमै म सीमित भए । गाउँ बिरानो लाग्दै २ वर्ष बिते । बर्सेनि रेडियो किन्ने बा र घरमा सबै भन्दा बढी बोल्ने रेडियोको धेरै पटक सम्झना आउँथ्यो । रेडियो नसुन्दै सुतेको रात र रेडियो नबोल्दै बिउँझेको दिन मलाई चित्त बुझ्दो थिएन ।

कक्षा १२ को परीक्षा सकियो । म भारतको हिमाचल हान्निए ।
स्याउ बोकेर दिनको ८०/१०० रुपैयाँ कमाउँदै मसँग भारू १५ हजार जम्मा भयो । आफूलाई मोबाइल फोन र बा‘लाई रेडियो किनी घर फर्किन मन थियो ।
लोभ लाग्यो ।
दुइटै किन्न सकिनँ ।

म घर पुग्दा कक्षा १२ पास भएको थिएँ ।
म भित्र रेडियोकर्मी बन्ने बिउ उब्ज्यो । हिमाचलबाट जोगाइल्याएको ज्याला खर्चिँदै म देशको राजधानी काठमाडौं पुगेँ । राजधानीका केही रात र दिनले मलाई रेडियोमा बोल्ने तरिका सिकाए । तर तिनै दिनहरूले केही महिना भन्दा बढी रेडियोमा बोल्न दिएनन् ।
म टेलिभिजन पत्रकारिता अभ्यास गर्न थालेँ । केही उज्याला रात र मधुरा दिनहरूले– राम्रो बोल्न र लेख्न जान्नेलाई पत्रकारिताले उचाइ दिने रहेछ भन्ने सिकाए ।
म सिक्दै छु ।

मेरो अहिलेको ज्ञान र अनुभव भन्दा मेरो सिकाइको आरम्भ विन्दुसँग ठूलो अर्थ छ । किनकि नेपाली बोल्न पनि मैले रेडियो सुनी-सुनी सिकेको थिएँ । विद्यालयमा त हामीले स्थानीय भाषामा पढेका हौँ ।

अहिले रेडियोहरू फ्रिक्वेन्सी भन्दा वेब र एपहरूमा सहज उपलब्ध छन् र सयौँ उपलब्ध छन् । मधुवन सुन्न छाडेको छैन । त्यैपनि आजकाल म रेडियो त्यति सुन्दिन । कसले केके सुन्दा हुन्, थाहा पनि छैन ।

रेडियो दिवसको दिन– रेडियो याद आयो, बा याद आए ।

अहिले मेरा बा जस्ता रेडियो प्रेमीहरू भने कति छन् होला है !